
काठमाडौं । हिजो र आज देशभर वर्षा गराएको न्यून चापीय प्रणाली भोलिदेखि कमजोर हुने भएको छ ।
अस्ति शनिवार बेलुकादेखि सक्रिय भएर देशका धेरैजसो ठाउँमा वर्षा गराएको प्रणाली भोलिदेखि कमजोर बन्ने मौसमविद् उज्ज्वल उपाध्यायले बताउनुभयो । मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक आउँदा सक्रिय भएको प्रणालीले आज रातिसम्मै पानी पार्ने अनुमान छ ।
मौसमविद् उपाध्यायका अनुसार तराई मधेशमा भोलिदेखि घाम लाग्ने सम्भावना छ । पहाडी क्षेत्रमा भने भोलि पनि सामान्य वर्षाको सम्भावना छ ।
चरम खडेरीको समस्या भोगेको मधेश प्रदेशमा पनि बितेको २४ घण्टामा राम्रो वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मापन प्रणाली अनुसार रौतहटको गौरमा २४ घण्टामा १४२ मिलिमिटर वर्षा भएको छ । पर्साको वीगञ्जमा ८७ मिलिमिटर वर्षा भएको छ ।
तराई मधेशका धेरैजसो ठाउँमा पानी परेपछि धान रोप्न बाँकी रहेका खेतहरूमा रोपाइँ भइरहेको छ । धान रोपिसकेका किसानलाई पनि सिँचाइको राहत पुगेको छ ।
अहिले पूर्वमा उदयपुर, सोलुखम्बु, दोलखादेखि काठमाडौं उपत्यका हुँदै पश्चिममा कास्की, बागलुङ, अर्घाखाँचीलगायतका जिल्लासम्म बदली र धेरै ठाउँमा वर्षा भइरहेको छ ।