२०८२ साउन १९, सोमवार , ०२:५९:०२ बजे

Sajhamanch
'

मधेशमा स्वास्थ्य बीमा गराउने साढे ७ लाखभन्दा बढी

सोमवार, साउन १९, २०८२

धनुषा । मधेश प्रदेशमा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या सात लाख ५० हजार नाघेको छ । प्रदेशका आठै जिल्लाबाट सात लाख ७९ हजार २६५ जनाले स्वास्थ्य बीमामा आबद्ध भएको स्वास्थ्य बीमा बोर्डका मधेश प्रदेश संयोजक रामेन्द्रप्रसाद कुशवाहाले जानकारी दिनुभयो ।

यससँगै प्रदेशमा बीमा गराउनेको सङ्ख्या झन्डै १३ प्रतिशत पुगेको छ । मधेश प्रदेशमा राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार ६१ लाख १४ हजार छ सय कूल जनसङ्ख्या रहेको छ । उहाँले पालिका तथा प्रदेश सरकारसँग समन्वय गरी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रयास भइरहेको बताउनुभयो ।

प्रदेश सरकारको आर्थिक सहयोगमा मधेशका सहिद परिवारलाई निःशुल्क बिमा गरिएको छ । गएको आर्थिक वर्षमा प्रदेश सरकारले विनियोजन गरेको ४० लाख रुपैयाले केही सहिद परिवारलाई बीमामा आबद्ध गरिएको उहाँले बताउनुभयो ।

सबै सहिद परिवारको पहिचान गर्न नसकिएर, ठेगाना यकिन गर्न नसकेर र कतिपय परिवार बसाइँसराइ गरेर गएकाले पूर्णरूपमा सहिद परिवारलाई बीमामा समावेश गर्न कठिन भएको उहाँको भनाइ छ ।

संयोजक कुशवाहाका अनुसार सरकारले सञ्चालनमा ल्याएका आधारभूत अस्पताललाई बीमा सेवाअन्तर्गत ल्याउने प्रयास भइरहेको छ । साथै, क्यान्सर, मुटु रोग, डायलासिस, हेड इन्जुरी, स्पाइनल इन्जुरी जस्ता जटिल रोगका बिरामीका लागि प्रमाणको आधारमा थप एक लाख रुपैयाँको बीमा सीमा थप गरिएको छ ।

सम्बन्धित खबर