
काठमाडौं । नेपाल रग्बी सङ्घले एशिया रग्बी इमिरेट्स २० वर्षमुनिको सेभेन्स ट्रफीका लागि नेपाली टोली घोषणा गरेको छ । भारतमा आउँदो शनिवारदेखि साउन २७ गतेसम्म हुने प्रतियोगिताका लागि रग्बी सङ्घले १३ सदस्यीय युवा टोली घोषणा गरेको हो ।
नेपाली टोलीमा सम्झौता तुम्बापो, लक्की मगर, सनमिका मगर, रेखा खड्का, सुशीला सुनुवार, निशा घलान, रोश्ना पोखरेल, पूजा डङ्गोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रमिरा शाही छन् । सावित्री पुर्जाको प्रशिक्षणमा नेपाली युवा टोली छनोट भएको हो ।
यस उमेर समूहको पछिल्लो संस्करण नेपालमा आयोजना भएको थियो । नेपाली टोलीले अहिले सर्लाहीको राधाकृष्ण खेल मैदानमा प्रशिक्षण गरिरहेको रग्बी सङ्घका महासचिव गोविन्द घिमिरेले जानकारी दिए । नेपाली टोली प्रतियोगितामा सहभागी हुन आउँदो बिहीवार भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
प्रतियोगितामा एशियाका विभिन्न ११ राष्ट्रबाट समान ८/८ आठ पुरुष/महिला २० वर्षमुनिको टोलीले प्रतिस्पर्धा गर्दैछन् । बिहारको राजगीर रङ्गशालामा खेल सञ्चालन हुनेछन् ।