
धनुषा । खडेरीको असर परेका किसानका लागि मधेस प्रदेश सरकारले स्यालो ट्युबवेल वितरण शुरु गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सुक्खा क्षेत्र सहयोग कार्यक्रमअन्तर्गत आठ जिल्लाका किसानलाई १८ करोड रुपैयाँको लागतमा ट्युबवेल दिने तयारी गरिएको हो । धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरी जिल्लाका किसानलाई कृषि ज्ञान केन्द्रमार्फत ट्युबवेल वितरण गरिँदैछ ।
मन्त्रालयका प्रवक्ता सरोज चौधरीका अनुसार एक हजार २०० ट्युबवेल वितरण गरिनेछ । एक ट्युबवेल जडान गर्न एकदेखि तीन लाख रुपैयाँसम्म खर्च लाग्नेछ । सोलार जोड्दा खर्च अझै बढ्नेछ । कृषि ज्ञान केन्द्र धनुषामा ट्युबवेलका लागि किसानको भिड लागेको छ ।
केन्द्रका प्राविधिक गणेश अधिकारीका अनुसार एक हजार एक सय बढी आवेदन प्राप्त भइसकेका छन् । तर, हाल दुई सयवटासम्म ट्युबवेल जडान गर्न मात्रै बजेट रहेको छ ।
निवेदनको छानबिनपछि मापदण्ड पुगेका किसानलाई ट्युबवेल जडान गरिनेछ । वर्षा नपरेपछि खेत सुक्खा भएका कारण किसान सिँचाइको विकल्प खोज्दै ट्युबवेलमा आश्रित भएका छन् ।
कृषि ज्ञान केन्द्रले साउन १२ गते सूचना प्रकाशित गरी सात दिनभित्र नागरिकताको प्रतिलिपि, स्थानीय सिफारिस, लालपुर्जा, कित्ताको नक्सालगायत कागजातसहित आवेदन दिन आह्वान गरेको थियो । आवेदन दिन कम्तीमा दुई बिघा खेतीयोग्य जमिनको प्रमाणित लालपुर्जा अनिवार्य छ ।