
पर्वत । लगातारको वर्षाले कालीगण्डकी नदीमा पानीको बहाब यस वर्षकै उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको पानी कारण आज बिहान नदीको सतह ६ मिटर माथी पुगेको गेज रिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
नदीको बहाब बढेपछि पर्वतका बगरफाँट, वारीबेनी, मालढुङ्गा, जैमिनीघाटलगायतका तटीय क्षेत्र जोखिममा परेका छन् । विश्वकै ठूलो शालिग्राम शिला र आसपासका संरचना डुबानमा परेका छन् । शिला संरक्षणका लागि बनाइएका तटबन्ध र ग्याबियन समेत बगाएको छ ।
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका ढोका खोलिए पनि बाढीको कारण पर्वत, स्याङ्जा र गुल्मीको सीमावर्ती सेतीवेणी बजार डुबानको उच्च जोखिममा परेको छ ।