२०८२ साउन १७, शनिवार , ०९:०६:५६ बजे

Sajhamanch
'

बहादुरसिंह लामा बागमतीको मुख्यमन्त्री पदबाट राजीनामा दिन सहमत

शुक्रवार, साउन १६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा गर्न निर्देशन दिएपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने हुनु भएको छ ।

मुख्यमन्त्री लामाले राजीनामा गर्न लागेको उहाँ निकट प्रदेश सांसद तीर्थ लामाले जानकारी गराउनु भएको हो । उहाँले भन्नुभयो, ‘सभापतिले राजीनामा गर्न निर्देशन हिजो दिनुभएको छ । भोलिसम्म उहाँले राजीनामा दिनुहुन्छ ।’

मुख्यमन्त्रीको एक वर्षे कार्यकाल बिताएका लामा विरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव पारित हुँदै दलको नयाँ नेता चयनका लागि निर्वाचन भएको थियो ।

संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित हुनुभएको छ । अब कांग्रेसबाट मुख्यमन्त्री बानियाँलाई बनाउने तयारी छ ।

एक वर्षभित्र राजीनामा गर्ने गरी लामाले बानियाँसँग सहमति गरेको एक पक्षको दाबी छ । त्यस अनुरूपमा लामाले पद नछोडेपछि अविश्वासको प्रस्ताव ल्याइएको उहाँसँग असन्तुष्ट पक्षको भनाइ छ ।

संविधानको १६८ (२) अनुसार मुख्यमन्त्री हुँदा दलको नेता आवश्यक नहुने भन्दै लामाले राजीनामा नदिने अडान लिनु भएको थियो । कांग्रेस र एमालेको संयुक्त सरकारको नेतृत्व लामाले गरिरहनु भएको छ ।

बागमतीमा कांग्रेसभित्र देखिएको अवस्थालाई लिएर बिहीबार कांग्रेस र एमालेका शीर्ष नेताको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो ।

सम्बन्धित खबर