
काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा निर्वाचित भएको छ । परिषद्मा हिजो निर्वाचित भएसँगै नेपालले कार्यभार पनि सम्हालेको छ ।
संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले परिषद्को कार्याभार सम्हालेपछि अध्यक्षमा नेपाल निर्वाचित हुनु नेपाल र बहुपक्षीयताप्रतिको नेपालको स्थायी प्रतिबद्धताको लागि ‘ऐतिहासिक क्षण’ भएको बताउनुभएको छ ।
दिगो विकासका लक्ष्य हासिल गर्न अध्यक्षका रूपमा नेपालले हरसम्भव प्रयत्न गर्ने तथा त्यस निम्ति अहिले सम्म भएका पहलहरूको प्रभावकारी कार्यान्वयनका साथै साझेदारी र बहुपक्षीयतालाई सुदृढ तुल्याउनेतर्फ आफू क्रियाशील रहने प्रतिबद्धता राजदूत थापाले व्यक्त गर्नुभएको न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।