२०८२ साउन १६, शुक्रवार , ०९:२२:३१ बजे

Sajhamanch
'

इन्भेन्चर एजुकेशन एकाडमीमा डा. महावीर पुन

शुक्रवार, साउन १६, २०८२

बिर्तामोड । यहाँस्थित इन्भेन्चर एजुकेशन एकाडमीमा वैज्ञानिक डा. महावीर पुन उपस्थित भएर बालबालिकालाई उत्प्रेरणा प्रदान गर्नुभएको छ ।

बिर्तामोड ३ मा रहेको सो विद्यालयमा अध्ययनरत बालबालिकाहरुको जिज्ञासासमेत सुनेर डा. पुनले भविष्यमा सफल मानिस बन्नका लागि जस्तोसुकै समस्याहरुलाई संघर्षको माध्यमबाट समाधान गर्नुपर्ने सन्देश दिनुभएको थियो ।

राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष, अनुसन्धानकर्मी एवम् वैज्ञानिक डा. पुन पछिल्लो केही दिनदेखि बिर्तामोडका विभिन्न स्थानमा आफ्नो आत्मवृत्तान्तको बिक्री प्रवर्धनमा रहनु भएको छ । सोही सन्दर्भमा उहाँले इन्भेन्चर एजुकेशन एकाडमीका बालबालिकासँग साक्षात्कार गर्नुभएको संस्थापक प्रिन्सिपल अमृत बस्नेतले जानकारी दिनुभयो ।

महावीर पुन : सम्झना, सपना, र अबिरल यात्रा नामक पुस्तकमार्फत् उहाँले आफ्नो संघर्षशील जीवनका उतार चढावहरु पस्कनु भएको छ ।

पुस्तकको बिक्री प्रवर्धनका क्रममा उहाँले भन्नुभयो, ‘देशमा वैज्ञानिक सोच र प्रविधिमा आधारित कृषियन्त्र उत्पादन गर्नुपर्छ भन्ने मेरो सपना हो, यही पुस्तक बेचेर जम्मा गरेको रकमबाट सानो प्रयास गरेको छु ।’

उहाँले आफ्नो पुस्तक हालसम्म १६औं संस्करणमा २ लाख ३० हजारप्रति प्रकाशन गरी २ लाख २० हजार बिक्री भएको र वीरगंज कृषि औजार कारखाना सञ्चालनका लागि १२ करोड रुपैयाँ जम्मा गरिसकेको बताउनु भएको छ ।

उक्त कार्यक्रममा डा. पुनले इन्भेन्चरका विद्यार्थीहरुलाई राम्रो अध्ययन गरेर देशमै सिर्जनशील काम गर्न सुझव दिनुभएको थियो । उहाँले देश र समाजको लागि अनुकरणीय काम गर्दै कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न सकिने भएकाले बालबालिकाले सोही अनुसार आजैबाट आफ्नो लक्ष्य पहिचान गर्न सुझाव दिनुभयो ।

विद्यालयका संस्थापक प्रिन्सिपल बस्नेतले समाजसुधारक एवम् अभियन्ता डा. पुनलाई आफ्नै विद्यालयमा स्वागत गर्न र विद्यार्थीलाई उहाँका अनुभव सुनाउन पाउँदा गौरव लागेको भन्दै सम्मान अर्पण गर्नुभयो ।

विद्यालय परिसरमा भएको उक्त कार्यक्रममा अभिभावकको तर्फबाट कुमार थापाले आफ्नो संक्षिप्त भनाई राख्दै डा. पुनको अभियानको सराहना गर्नुभएको थियो ।

दिनेश दर्नालले सञ्चालन गर्नुभएको सो कार्यक्रममा डा. पुनको ५० थान आत्मवृत्तान्त पुस्तक विद्यालयले खरिद गरिदिएको थियो ।

सम्बन्धित खबर