२०८२ साउन १६, शुक्रवार , ०८:४५:३५ बजे

Sajhamanch
'

थानकोट-चित्लाङ सडक आर्थिक विकास र समृद्धिको दृष्टिकोणले महत्वपूर्ण : भौतिक मन्त्री दाहाल

बिहिवार, साउन १५, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले थानकोट–चित्लाङ् सडकको स्तरीकरणलाई गति दिन निर्देशन दिनु भएको छ।

आज बिहीबार सो सडकको निरीक्षण पछि उहाँले काठमाडौ जोड्ने छोटो सो सडक आर्थिक विकास र समृद्धिको सहयोगी समेत बन्नसक्ने बताउनु भएको हो ।

सो सडकले मकवानपुरको कृषि उपज काठमाडौंसम्म लैजान तथा पर्यटकीय क्षेत्रको विकास गर्नसमेत सहयोग पुर्याउने भएकाले यसले आर्थिक विकासलाई पनि टेवा पुर्याउने मन्त्री दाहालको विश्वास छ।

निर्धारित समयमा काम पूरा गर्न सडक विभागलाई निर्देशन दिँदै उहाँले कुनै पनि योजना तथा आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्न समेत सजग गराउनु भयो ।

उहाँले विकासका संरचनाहरुले नागरिकको जीवनमा समृद्धि ल्याउन सक्नुपर्ने बताउँदै भन्नुभयो, ‘यो सडकसमेत आर्थिक विकासका दृष्टिकोणले महत्वपूर्ण रहेकाले निर्माणमा तदारुकता दिनु पर्नेछ ।’

सोही क्षेत्रका प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मकवानपुर तथा काठमाडौबासीका लागि मात्र नभई पूर्वी नेपालसहित बाग्मती, मधेस र लुम्बिनी प्रदेशसँगको सम्पर्कका लागिसो सडक महत्वपूर्ण रहेको बताउनुभयो ।

यहाँका बासिन्दाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने र आर्थिक विकासका लागिसमेत बहुउपयोगी हुने अपेक्षा राखिएको सो सडक विना अवरोध र बिना ढिलाई जतिसक्दो छिटो निर्माण पूरा गराउन आवश्यक रहेकोमा बर्तौलाले जोड दिनुभयो ।

सो सन्दर्भमा सडक विभागका महानिर्देशक डा. विजय जैसीले कुनै पनि ढिला सुस्ती हुन नदिई निर्माण कार्यलाई गति दिने बताउनु भयो ।

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौका प्रमुख शुभराज न्यौपानेका अनुसार सो सडक स्तरीकरणको ठेक्का लागि काम अघि बढिसकेको छ ।

अनुगमनमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, वुद्धिजिवी संगठनका अध्यक्ष इन्जिनियर गजेन्द्र थपलिया लगायत सहभागी हुनुहुन्थ्यो ।

सडक डिभिजन काठमाडौका प्रमुख नारायणदत्त भण्डारीका अनुसार सो सडक निर्माणका लागि २ प्याकेजमा ठेक्का लागेर काम भइरहेको छ । उक्त सडकको ८.५ किमि खण्ड काठमाडौंमा र बाँकी खण्ड मकवानपुर जिल्लामा पर्दछ ।

सम्बन्धित खबर