
बिर्तामोड । यहाँस्थित सतासी बहुउद्देश्यीय सहकारी संस्थाले डा. महावीर पुनलाई सम्मान गर्दै उहाँको संघर्षशील जीवन गाथा समेटिएको महावीर पुन सम्झना, सपना र अविरल यात्रा पुस्तक ५० थान खरिद गरेको छ ।
संस्थाका सञ्चालक समिति सदस्य जीवनकुमार प्रधानको अध्यक्षतामा आयोजित संक्षिप्त कार्यक्रममा उहाँले डा. पुनलाई टोपी लगाएर स्वागत गर्नुभएको थियो ।
यस्तै सञ्चालक समितिका सदस्य शर्मिला अधिकारीले फूलको बुके र मायाको चिह्नो प्रदान गर्नुभएको थियो भने प्रबन्धक झलेन्द्रप्रसाद दाहालसहित कर्मचारी र सदस्यहरुले खादा लगाएर सतासी सहकारीको कार्यालयमा डा. पुनलाई स्वागत गर्नुभएको थियो ।
सो संक्षिप्त कार्यक्रममा मन्तब्य राख्दै डा. महावीर पुनले मेरो जीवन यात्राको सत्य कथाको वर्णन भएको पुस्तक बेचेर वीरगञ्जको कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउने महत्वाकांक्षा सुनाउनु भयो ।
आफूले विगत ४७८ दिनदेखि निरन्तर अभियानमा खटिएर ४८ जिल्ला भ्रमण गरिसकेको र २ लाख २० हजार थान पुस्तक बिक्री गरी १२ करोड रुपैयाँ काराखानाको खातामा जम्मा गरिसकेको उहाँको भनाइ थियो ।
‘कृषि औजार कारखाना सञ्चालन गर्न बजेट छुट्याउनु पर्छ भन्नेमा पछि पछि त सरकारको पनि बुद्धि आउला तर अहिलेसम्म नआएकाले किताब बेच्ने अभियान थालेको’ डा. पुनको टिप्पणी थियो ।
कृषि औजार कारखानाबाट साना किसान लक्षित कृषि औजारहरु उत्पादन गरिरहेको जानकारी दिनुहुँदै उहाँले धान, मकै, कोदो रोप्ने, गोड्ने, काट्ने साना प्रकारका औजारहरु बनाउने गरिएको बताउनु भयो ।
आफूले लेखेको पुस्तक महावीर पुन सम्झना, सपना र अविरल यात्रा युवा विद्यार्थी लक्षित पुस्तक भएको सुनाउँदै उहाँले संघर्ष के हो, जीवन कसरी खारिन्छ भन्ने आफ्ना अनुभवहरु संग्रहित गरिएको बताउनु भयो ।
युवालाई उत्प्रेरणा प्रदान गर्दे उहाँले पटक पटक प्रयास गरेमा सफल हुने सन्देश दिनुभयो र भन्नुभयो ‘मेरो उपदेश होइन, मैले भोगेको सत्य घटना संग्रहित पुस्तक पढेर व्यवहारमा लैजानुस्, पक्कै तपाईं पनि संघर्षको मैदानबाट खारिएर निस्कनु हुनेछ ।’
संस्थाका प्रबन्धक दाहालले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।