
काठमाडौं । नेपालमा मनसुन सुरू भएको करिब डेढ महिना बितिसकेको छ।
गत जेठको १५ गते रातिबाट नेपालमा पूर्वबाट मनसुन भित्रिएको थियो। ठाउँ–ठाउँमा भीषण वर्षा भएको छ। ५०० बढी विपद्का घटना पनि भएका छन्।
जनधनको क्षति पनि ठूलो भएको छ। तर देशभरका कुनै पनि ठूला नदीमा बाढीले खतराको तह पार नगरेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले बताउनु भयो।
यस वर्ष सरदर भन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको थियो तर अहिलेसम्म पनि देशका ठूला नदीहरूमा बाढीले खतराको तह पार गर्न सकेको छैन। आगामी तीन दिनमा पनि कुनै प्रमुख नदीहरूमा खतराको तह भन्दा बढी बाढी नजाने उहाँले बताउनु भयो।
साना नदीहरूमा ठूलो पानी पर्दा ठूलै बाढी आउनसक्ने उहाँको भनाइ छ।
आज पनि गण्डकी, कर्णाली र वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रहरूमा आकस्मिक बाढी आउन सक्ने अनुमान रहेको छ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले पछिल्लो डेढ महिना मधेस प्रदेशमा सरदरमा करिब ५० प्रतिशतसम्म वर्षा भइसक्नुपर्नेमा हालसम्म २० देखि २५ प्रतिशत वर्षा मात्रै भएको बताउनु भयो।
हालका दिनहरूमा भने केही वर्षा भएको र आगामी दिनमा वर्षा हुँदै जाने उहाँको भनाइ छ।
‘रसुवामा गत राति मध्यम किसिमको बाढी आएको देखिन्छ। करिब रातको १ बजे रसुवागढीको टिमुरेस्थित केन्द्रले ठूलो बाढी आएको बताएको छ। बाढी सानो भए पनि अघिल्लो बाढीबाट बाँकी रहेका गेग्रानका कारण केही ठूलो र केही नोक्सान गरेको छ की भन्ने हो। यसको जटिलता नुवाकोटसम्मै रहेको छ। पछिल्लो २४ घण्टामा पनि ठूलो पानी पर्ने सम्भावना रहेकाले यो क्षेत्रमा सतर्कता अपनाउनुहोला,’ उहाँले भन्नुभयो।
जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार मनसुन आगामी तीन दिन सक्रिय हुनेछ।