२०८२ साउन १४, बुधवार , ११:५०:३५ बजे

Sajhamanch
'

गैंडाकोटको ‘बगैंचा एडभेन्चर रिसोर्ट’मा आगलागी, मुख्य भवन पूर्णरूपमा जलेर नष्ट

बुधवार, साउन १४, २०८२

चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–११ स्थित आकर्षक ‘बगैंचा एडभेन्चर रिसोर्ट’मा आज बिहान भीषण आगलागी भएको छ। आगोले रिसोर्टको मुख्य हल तथा रिसेप्सन क्षेत्र पूर्णरूपमा नष्ट पारेको छ।

काठबाट निर्मित रिसोर्टको मुख्य संरचनामा विद्युत सर्ट भई आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ। आगलागी बिहानको समयमा भएको भए पनि मानवीय क्षति भने नभएको जनाइएको छ।

आगो नियन्त्रणका लागि कावासोती नगरपालिका र भरतपुर महानगरपालिका कार्यालयबाट दमकलसहितको टोली घटनास्थल पुगेको थियो। प्रहरी, स्थानीयवासी र दमकलकर्मीहरूको सहकार्यमा आगो नियन्त्रणमा लिइए पनि मुख्य संरचनामा ठूलो क्षति भइसकेको छ।

विदेशबाट फर्किएका सञ्चालक सन्तोष धितालले ९ वर्ष लगाएर निर्माण गरेका थिए यो रिसोर्ट। डेढ वर्षअघि मात्रै सञ्चालनमा आएको यो रिसोर्ट ‘र्‍याम्ड अर्थ’ प्रविधिमा निर्माण गरिएको थियो।

आधुनिकताको साटो स्थानीय सामग्री प्रयोग गर्दै टायल वा मार्बल प्रयोग नगरी निर्माण गरिएका भिल्ला, काइट हाउस र कार्ट हाउसहरू रिसोर्टको विशेषता थिए।

हाल क्षतिको यकिन मूल्याङ्कन भइरहेको छ भने प्रहरीले विस्तृत अनुसन्धान पनि अगाडि बढाएको छ।

सम्बन्धित खबर