
काठमाडौं । नेपाल–भारत सीमा कार्यदलको सातौं बैठकले सीमा क्षेत्र (दशगजा) मा गर्नुपर्ने आवश्यक प्राविधिक कार्यहरुको तीन वर्षे कार्ययोजना स्वीकृत गरेको छ ।
भारतको नयाँ दिल्लीमा हिजो सम्पन्न बैठकले कार्ययोजना स्वीकृत गरेको हो । दुईपक्षीय बैठक हुन नसक्दा पछिल्लो ६ वर्षदेखि सीमा क्षेत्रमा गरिनुपर्ने प्राविधिक कार्यहरु रोकिएका थिए ।
बैठकले नेपाल र भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको निरीक्षण र मर्मतसम्भारका कामलाई अझै प्रभावकारी बनाउन सर्वेक्षण र नक्साङ्कनमा नयाँ प्रविधि अपनाउने सहमति जनाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गर्नुभएको थियो ।
भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको नापी विभागका महानिर्देशक हितेशकुमार एस मकवानाले गर्नुभएको थियो ।
बैठकले सन् २०१९ मा देहरादूनमा भएको छैटौं बैठकको नतिजाको कार्यान्वयनको समीक्षा पनि गरेको छ ।
बैठक विभिन्न सहमतिपत्रमा हस्ताक्षरसँगै समापन भएको र दुवै पक्षले नापी विभागका अधिकारी सम्मिलित समितिको अर्को बैठक आउँदो महिना नेपालमा आयोजना गर्ने निर्णय गरेको छ ।
त्यस्तै, सीमा कार्यदलको अर्को बैठक दुवै देशलाई अनुकूल हुने मितिमा नेपालमा गर्ने सहमति जनाएका छन् । सीमा कार्यदल नेपाल र भारत सरकारद्वारा सन् २०१४ मा गठन भएको संयुक्त निकाय हो ।