
काठमाडौं । शेयर बजार आज पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ७६ अङ्कले बढेर ३ हजार २ दशमलव ०७ विन्दुमा पुगेको छ । आज नेप्से झन्डै चार वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।
यसअघि २०७८ साल भदौ १३ गते नेप्से ३ हजार ४५ विन्दुमा पुगेको थियो । त्यही वर्षकै भदौ २ गते नेप्से ३ हजार १९८ को विन्दुमा पुग्दा कीर्तिमान बनेको थियो ।
आज विकास बैंक, फाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा अन्य समूहको शेयर २ दशमलव ५८ प्रतिशतले उकालो लागेको छ ।
आज मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भी इनर्जी र नदीप लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन समता घरेलु लघुवित्त कम्पनीको शेयर भने साढे ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो १९ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ३२१ वटा कम्पनीका ४ करोड १८ लाख कित्ता शेयर १८ अर्ब ५२ करोड रुपैयाँमा किनबेच भएको छ ।
यसैबीच बजार पूँजीकरण अर्थात् लगानीकर्ताको सम्पत्ति अहिलेसम्मकै उच्च ५० खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ ।