
काठमाडौं । मधेश प्रदेशमा खडेरीका कारण हुनसक्ने खाद्य सङ्कट समाधानका लागि कृषि बाली परिवर्तन गर्न विज्ञले सुझाव दिएका छन ।
काठमाडौंमा हिजो भएको जलवायु न्यायसम्बन्धी कार्यक्रममा विज्ञहरूले जलवायु परिवर्तनका कारण समस्या थप बढ्दै जाने भन्दै त्यसैअनुसार बाली विकास गरिनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा कृषि विज्ञ डा।कृष्ण पौडेलले मधेशलगायत देशका धेरैजसो तराई क्षेत्रमा मनसुनको समयमा धानखेती हुँदै आएकोमा खडेरीले समस्या पर्दै आएको र यस खाद्य सुरक्षा जोखिम बढ्ने भएकाले सुक्खा ठाउँ अनुकूल खेती गर्नुपर्ने बताउनुभयो ।
उहाँले मधेश तथा तराई क्षेत्रमा देखिएको खडेरीको समस्या आकस्मिक नभएको भन्दै गम्भीर भएर सोच्नुपर्ने बताउनुभयो । कृषि क्षेत्रमा प्रयोग गरिएको विषादी र रसायनले माटोको उर्वर शक्ति गुमाएको विज्ञको भनाइ छ ।
हानिकारक ग्यासको उत्सर्जनले बढेका तापक्रमले खडेरीलगायत समस्या निम्तिएकाले समस्या समाधान हुनेगरी सरकारले काम गर्नुपर्ने विज्ञको भनाइ छ ।
कृषि बालीमा सिर्जित समस्या समाधानका लागि भन्दै सरकारले घोषणा गरेअनुसार धेरै ‘डिप बोरिङ’ बनाउँदा दीर्घकालमा समस्या झन् बढ्नसक्ने तर्फ विज्ञहरुले सचेत गराएका छन् ।