
काठमाडौं । थारु समुदायले पहिलो पर्वका रुपमा मनाउने ‘गुरही’ आज मनाइँदैछ । विशेषगरी पश्चिम नेपालका कैलाली, कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायले यो पर्वलाई विशेष महत्त्वका साथ मनाउँछन् ।
यो पर्व साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन मनाइन्छ । नागपञ्चमीमा विशेषगरी नेपालीहरू नागको पूजाआजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुने गरेको घोडाघोडी नगर भल्मन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिनुभयो ।
गुरही पूजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, रोगव्याधी महामारी घरमा प्रवेश नगर्ने जनविश्वास रहिआएको उहाँले बताउनुभयो । गुरही पूजाका अवसरमा कैलालीका पालिकाहरुले सार्वजनिक बिदासमेत दिएका छन् ।
आजै मधेश प्रदेशको महोत्तरीसहित अरु जिल्लामा नागको पूजाआराधना गरेर ‘लगपाँच’ पर्व मनाइँदै छ ।
मूलघरको चारैतिर भित्तामा गाईको गोबरले नागको चित्र कोरेर दुबो, सिन्दूर र अक्षता चढाइ नागको आराधना गर्ने परम्परा रही आएको छ ।
घरमूली गृहिणीले स्नान गरेर भित्तामा नाग चित्र कोरेर पूजा आराधना गर्दै नागले रुचाउने दूध, लावा चढाउँछन् ।
यस्तै महोत्तरीको मटिहानी नगरपालिका–७ मा रहेको प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागत रूपमा मनाइँदै आइएको पौराणिक झुलनोत्सव पर्व शुरू भएको छ ।
आजदेखि आउँदो पूर्णिमाको दिनसम्म मनाइने झुलनोत्सवका अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट हरेक दिन साँझपख कलात्मक पालकीमा बाजागाजाका साथ भगवान् रामसीताको मूर्ति राखी भजन कीर्तन गर्दै झुलाघरमा लगिन्छ भने अबेर रातिसम्म झुला झुलाइन्छ ।
महोत्तरीको लक्ष्मीनारायण मठ, धनुषाको जनकपुरधाममा रहेको राममन्दिर र जानकी मन्दिर, सर्लाही, सिराहा, सप्तरी र भारतको तिरहुत क्षेत्र विहारका विभिन्न मठ मन्दिरमा झुलापर्व धुमधामका साथ मनाइने परम्परा छ ।
मिथिला क्षेत्रमा साउन महिनाको दोस्रो हप्तापछि झुलापर्वको रौनक शुरू हुन्छ । यस अवसरमा मिथलाञ्चलको प्रत्येक मठ मन्दिरमा कजरी र मलारजस्ता गीतको स्वरलहरी सुनिन्छ ।