
काठमाडौं । अखिल नेपाल टेबल टेनिस सङ्घको आयोजनामा विश्व टिम टेबलटेनिस च्याम्पियनशिपका लागि दक्षिण एशियाली छनोट प्रतियोगिता भोलिदेखि शुरू हुने भएको छ ।
दुईदिने प्रतियोगिताका खेलहरु लैनचौरको राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
प्रतियोगीतामा नेपालसहित भारत , श्रीलङ्का, माल्दिभ्स र बङगलादेशका खेलाडीको सहभागिता रहने छ । भारतबाट १० खेलाडी सहभागी हुने छन् । नेपालसहित अन्य देशबाट समान ८ खेलाडीले भाग लिने छन् ।
नेपालबाट ४ महिला र पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । नेपाली महिलामा वियंका राई, इभाना थापा, नविता श्रेष्ठ र योङगी पौडेल रहेका छन् । पुरुषमा संयोग कपाली, रुविन महर्जन, राजीव चिकन्बञ्जार र गनन्जय दाहालले खेल्ने छन् ।
नेपाली टोलीको मुख्य प्रशिक्षकमा मोहनदास बासुकला तथा प्रशिक्षकमा सन्जिवकुमार ढुंगोल र सन्ध्या शाक्य रहेका छन् ।
राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा पहिलो हुने पुरुष/महिला टोलीले विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि छनोट हुने छन् ।
विश्व टिम टेबलटेनिस च्याम्पियनशिप इङल्यान्डमा सन् २०२६ को सेप्टेम्बरमा हुनेछ ।