
काठमाडौं । आज विश्व बाघ दिवस मनाइँदैछ । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाइन्छ ।
सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले घोषणा गरेसँगै ‘विश्व बाघ दिवस’ मनाउन थालिएको हो ।
तीन वर्षअघि भएको पछिल्लो राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ३५५ पुगेको छ । बाघको सङ्ख्या लक्ष्यभन्दा धेरै भएसँगै यसको व्यवस्थापन, मानव–बाघ द्वन्द्व, बासस्थानलगायत चुनौतीसमेत देखिएका छन् ।
मध्यवर्ती क्षेत्रका स्थानीयवासी घाँस दाउरा, निहुरो टिप्न र गाईभैँसी चराउन जाने क्रममा बाघको आक्रमणमा पर्ने गरेका छन् । कतिपय अवस्थामा बाघको चोरीशिकार हुनेक्रम पनि बढेको छ ।
अहिले नेपालमा बाघको सङ्ख्याको आवश्यकताका बारेमा बहस शुरू भएको छ । कतिपयले वातावरणीय क्षमताका हिसाबले नेपालमा बाघको सङ्ख्या बढी भएको तर्क गरेका छन् भने कतिपयले बाघको सङ्ख्याको धान्ने क्षमता ४०० हाराहारी रहेको बताएका छन् ।
पाटेबाघ विश्वका १३ देशमा पाइन्छन् । नेपालमा सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा रहेका छन् । त्यस्तै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको मन्त्रालयको तथ्याङ्क छ ।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघका लागि प्रख्यात गन्तव्यका रूपमा छ । निकुञ्जमा पाटेबाघका लागि कम क्षेत्रफल भए पनि ४४ वटा बाघ छन् ।
विश्वको दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि पनि प्रख्यात मानिएको छ ।