२०८२ साउन १२, सोमवार , ०३:५८:०२ बजे

Sajhamanch
'

प्रशिद्ध तीर्थस्थल सताक्षीधामको उत्पत्ति र महिमा

सोमवार, साउन १२, २०८२

झापा । पूर्वपश्चिम पूर्व-पश्चिम महेन्द्र राजमार्गको झिलझिले बजारबाट साढे ४ किलोमिटर उत्तर चुरे पहाडको फेदीमा, एक अत्भुत धार्मिक स्थल रही आएको छ — सताक्षीधाम। कुनैदिन गुम्नाम जस्तै बनेको सताक्षीधाम स्थानीय सरकार आएपछि एकाएक नयाँ स्वरुपमा परिवर्तन आएको हो ।

जसमा केन्द्रिय सरकार, प्रदेश सरकार र शिवसताक्षी नगरपालिकाको महत्वपूर्ण भुमिका रहेको पाइन्छ । वनजङ्गलको शान्त वातावरणमा लुकेको यो धाम अहिले लाखौं भक्तजन र पर्यटकको आस्था केन्द्र बनेको छ।

पुराण अनुसार, सतीदेवीले दक्ष प्रजापतिको यज्ञमा भगवान शिवको अपमान देखेपछि आफूलाई यज्ञकुण्डमा होम गरिन्। शिवजीले शोकमा सतीको शरीर काँधमा बोकी ब्रह्माण्डभर परिक्रमा गर्दा, भगवान विष्णुले सुदर्शन चक्रद्वारा सतीका अंग पृथ्वीका विभिन्न स्थानमा खसाले। यही घटनाले शक्ति पीठहरूको जन्म गरायो ।

एक जनश्रुतिअनुसार, सतीदेवीका सयवटा आँखाहरू यस स्थानमा खसेका थिए। त्यसैले यस धामको नाम रह्यो — सताक्षीधाम (सत . सती, अक्षी , आँखाहरू) । त्यसबेला सतीदेवीका नेत्रहरूबाट अश्रु र्झयो, जसले जलधाराको रूप लिएर सुक्खा पृथ्वीलाई पुनः हरित बनायो।

भारतको तेजपुरबाट एक किराँती लिम्बु राजाले ८७ जना ऋषिमुनिलाई पहाडतर्फ लिएर आउँदा जाडोले गर्दा उनीहरू यहींको गुफामा बसेर देवीको तपस्या गरे। त्यसैको स्मरणमा यो क्षेत्रलाई सताक्षीधामनाम दिइएको मान्यता छ।

महाभारतकालमा पाण्डवहरूले गुप्तवास बस्न यही क्षेत्र रोजेको पाइन्छ । समीको रुखमा शस्त्र लुकाएर उनीहरू सताक्षीदेवीको आराधनामा लीन भए। अर्जुनले आफ्नो गान्ढिव धनु पनि यहीं सुरक्षित राखेका थिए पूराणहरुमा उल्लेख छ ।

आजको धामको स्वरूप साकार पार्न महाराज नन्दकिशोर भारद्वाजको योगदान अतुलनीय छ। दस वर्षअघि सानो कुटीबाट सुरु भएको साधनालाई उनले गोलोक गोवद्र्धन गौशालासहित आध्यात्मिक शिक्षा, गाई सेवा र सामाजिक विकासमा परिणत गरे। गौशालामा सात सयभन्दा बढी गाई पालिएका छन् भने ३० जनाले रोजगारी पाएका छन् ।

पछिल्लो समय सताक्षीधाम धार्मिक पर्यटन विकास समितिले ८७ धारा निर्माण गरेको छ । जसले सताक्षीधामको महत्व र धार्मिक दृष्टिकोणमा थप बलपुगेको देखिन्छ । धाम विकास समिति सक्रिय रहँदा सत्संग भवन निर्माणाधिन अवस्थामा रहेको छ भने पुरानो शिव मन्दिरको माथिल्लो जीर्ण अवस्थामा रहेको गजुरसहित मन्दिरलाई पुर्न निर्माण गरी नयाँ स्वरुपमा परिवर्तन गरिएको छ ।

अब सताक्षीधाममा लक्ष्मी–नारायण मन्दिर, शिवालय, द्वापार ज्योतिर्लिङ्ग, रुद्राक्षबाट निर्मित ५० फुटको शिवलिङ्ग, राम दरबार, सताक्षीधाम गुरुकुलम संस्कृति विद्यालय, अतिथिगृहहरू, १०८ तुलसी मोड, पाण्डव गुफा, विरेनुन कुण्ड, बौद्ध स्तुपा, माङहिम, आदिले यसको महिमा अझै फैलाएको छ। सडक र बिजुली पुगे पनि खानेपानी र सञ्चारका चुनौती अझै छन् ।

सताक्षीधाम एउटा पौराणिक कथा मात्र होइन — यो सतको प्रतीक, श्रद्धाको केन्द्र, र भविष्यको धार्मिक सांस्कृतिक सम्पदा हो। यहाँको दर्शनले भक्तजनलाई देवत्व, इतिहास, र प्रकृतिको अद्भुत सम्वाद गराउँछ। आउँ सबै मिली यो धामको दर्शन गरौं र पुन्य कमाऔं ।

सम्बन्धित खबर