
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बेरुजु शून्य देखिएको छ । हरेक वर्ष ठूलो मात्रमा बेरुजु बढिरहेका बेला अख्तियारको भने बेरुजु शून्य देखिएको हो ।
आज सार्वजनिक लेखा समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायण शर्मा दुवाडीले अख्तियारको अहिलेसम्म कुनै पनि बेरुजु नरहेको जानकारी दिनुभयो । उहाँले कानूनको परिपालना गरेर कार्यसम्पादन गर्ने हो भने कुनै पनि बेरुजु नरहने बताउनुभयो ।
सचिव दुवाडीका अनुसार बेरुजु फर्छ्योट गर्न कानूनको परिपालना गर्नैपर्छ भने व्यवस्थित लेखा प्रणाली नहुनु पनि बेरुजु बढ्नुको एक कारण हो ।
कमजोर कारबाही प्रणाली, बेरुजु फर्छ्योट गर्ने दायित्व कसको हो भन्नेबारे दुविधा रहनु, बारम्बार कर्मचारी परिवर्तनले पनि फर्छ्योटमा समस्या पारेको उहाँको भनाइ छ ।
सचिव दुवाडीका अनुसार औचित्य पुष्टि नहुने गरी अनेक शीर्षकमा बजेटमा राखिने भएकाले पनि बेरुजु बढेको हो । बेरुजु फर्छ्योट शासकीय विषय भएकाले शून्य बेरुजु कायम गर्ने गरी अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।