
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-८ बस्ने नुवाकोट म्यागङ गाउँपालिका-२ घर भएका ४२ वर्षीय हेम बहादुर तामाङ, काठमाडौं टोखा नगरपालिका-१० बस्ने स्याङ्जा फेदीखोला गाउँपालिका-२ घर भएका ३५ वर्षीया ईश्वरी थापा र काठमाडौं चन्द्रागिरी नगरपालिका-५ बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-७ घर भएका ६१ वर्षीया मैया देबी उप्रेती रहेका छन् ।
पक्राउ मध्ये हेम बहादुरले सिङ्गापुर पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ७० हजार रुपैयाँ, ईश्वरीले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ५० हजार रुपैयाँ र मैया देवीले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्नेपीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हेम बहादुरलाई टोखा नगरपालिका-८ बाट शुक्रबार, ईश्वरीलाई टोखा नगरपालिका-१० बाट शनिबार र मैया देवीलाई चन्द्रागिरी नगरपालिका-५ बाट आइतबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये ईश्वरीलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं तथा हेम बहादुर र मैया देवीलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।