
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिनुभएको छ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफल प्रधानमन्त्री ओलीले आगामी सन् २०२६ मा जापानमा हुने एसियन गेमको पूर्वसन्ध्यामा राष्ट्रिय प्रतियोगिता देशकै इज्जतको सबाल भएकाले राष्ट्रिय खेलकुदको भव्य तयारी गर्न निर्देशन दिनुभएको हो।
प्रधानमन्त्री ओलीले प्रतियोगिताको मिति र स्थान राम्रो अध्ययन गरेर निर्णय गर्न र निर्णय गरेपछि परिवर्तन नगर्न पनि आग्रह गर्नुभयो। परिषद्का संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री ओली र मन्त्रालय र परिषद्को नेतृत्वबीच उचित समन्वय हुनुुपर्नेमा पनि जोड दिनुभएको थियो।
छलफलमा युवा तथा खेलकुद मन्त्री तेजुुलाल चौधरी, मन्त्रालयका सचिव डा हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, सदस्यसचिव टङ्कलाल घिसिङलगायत सहभागी हुनुहुन्थ्यो ।