
मेचीनगर । मेचीनगरका दुई जनालाई जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको छ ।
नगरपालिका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले मेचीनगर ३ का ३६ वर्षीया र ५ नम्बर वडाका ५५ वर्षीया एक–एक जनालाई जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।
वडा नम्बर ३ का महिलालाई जुलाई १ तारिख र अर्की महिलालाई १४ जुलाईमा उक्त संक्रमण भएको नगरपालिकाले तथ्याङ्क सार्वजनिक गरेको छ । दुवैजनाको उपचार बिर्तासिटी अस्पताल बिर्तामोडमा गरिएको थियो ।
स्वास्थ्य शाखाका अनुसार एकजना उपचारपछि घर फर्किनु भएको छ भने अर्की एक महिलाको अझै उपचार भइरहेको छ । उहाँको अवस्था अहिले सामान्य हुँदै गएको स्वास्थ्य शाखाले जनाएको छ ।
नगरपालिका कार्यालयमा आज भएको स्वास्थ्य शाखाको बैठकमा डब्ल्यूएचओका काठमाडौँ प्रतिनिधि डा. सोनिया भगतले उक्त रोगको संक्रमण पुष्टि भएको बताउनु भएको थियो ।
डा. भगत, स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी, प्रादेशिक अस्पताल भद्रपुरका डा. संगीता साहले यसको लक्षण र बच्ने उपायका बारेमा समुदायमा सचेतना गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको जनाइएको छ ।
छलफलमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले जापानीज इन्सेफलाइटिसको संक्रमण हुन नदिन स्वाथ्यकर्मीहरुलाई घर–घरमा पुगेर जनतालाई सचेतना र संक्रमणको लक्षण देखापरे समयमा नै स्वास्थ्य केन्द्र र नगर अस्पतालमा उपचार गराउन आव्हान गर्नुभयो ।
संक्रमणको अवस्था जटिल बने डाक्टरहरुको सल्लाहमा प्रादेशिक अस्पताल भद्रपुरमा व्यवस्था मिलाउन समन्वय गरिने उहाँहरुको भनाई छ ।
छलफलमा ३ नम्बर वडाका वडाध्यक्ष हर्कबहादुर बस्नेत, वडा नम्बर ५ का वडाध्यक्ष कनकबहादुर कार्की, पशु शाखा, कृषि शाखा लगायतका स्वास्थ्यकर्मीहरुले संक्रमणबाट बच्न, रोकथाम गर्न तीन तहको सरकारको ध्यानाकर्षण हुनुपर्ने औंल्याउनु भयो ।
गत वर्ष उक्त रोगबाट मेचीनगर–७ का एकजनाको ज्यान गएको थियो । यसअघि यही रोगका कारण नेपालमा करिव २५ जनाको ज्यान गएको थियो ।