
इलाम । माइजोगमाई–२ लोसेवासी एकमहिनादेखि चितुवा आतंकले त्रसित भएका छन् । चितुवाले गाउँका किसानको पशुचौपायलाई आक्रममण गर्न थालेपछि उनीहरु समस्यामा परेका हुन् । माइजोगमाई–२ लोसेका पशुपालक शेरबहादुर गुरुङले भन्नुभयो, “चार दिन भयो, निद्रा नै लाग्दैन । ”
गए राति गुरुङको खोरभित्रै पसेर चितुवाले माउ बाख्रा मारेको हो । यस्तै, केही दिनअघि पनि लोसेमै चितुवाले तीनवटा बाख्रा खोरमै खाएको पशु प्राविधिक रविन गुरुङले जानकारी दिनुभयो । “चितुवा खोरमै पसेर खसीबाख्रा लाने भएपछि, गाउँलेलाई रात कटाउनै मुस्किल भएको छ”, उहाँले भन्नुभयो ।
चितुवाको उपद्रो लोसेसम्म सीमित छैन । शनिबार राति माइजोगमाई–२ मूलखर्कका हर्कसिंह राई र बिज्जेका गोपाल खड्काको खोरमा पनि बाख्रा मरेका छन् । एकपछि अर्को गाउँमा चितुवा देखिन थालेपछि माइजोगमाईका किसान त्रासमा छन् ।
“बोका हरायो भनेर खोज्दै जाँदा साँझ चितुवाको माउ र बच्चा देखियो”, माइजोगमाई–३ गुप्तीका रोहित काफ्लेले भन्नुभयो, “अब बालबालिका पनि घर–विद्यालय गर्न डराउन थालेका छन् ।” वन्यजन्तुको आतङ्कले खसीबाख्रामात्र होइन, किसानको तरकारी बालीसमेत धरापमा परेको छ । मकै, फर्सी, स्कुस, आलुजस्ता बाली बँदेल र बाँदरले खाएर नष्ट गरिदिँदा मेहनत धुलोमा मिलेको स्थानीयको गुनासो छ ।
तर यति ठूलो समस्या हुँदाहुँदै पनि सरकारी पक्षसँग एकिन तथ्याङ्क छैन । “जङ्गली जनावरले दैनिक क्षति गरिरहे पनि अधिकांश घटना जानकारी नआउँदा विवरण सङ्कलन गर्न सकिएको छैन”, इलाका प्रहरी कार्यालय नयाँबजारका प्रमुख रमेश चौधरीले भन्नुभयो ।
वन्यजन्तुको उपद्रो बढ्दै जाँदा स्थानीय सुरक्षा, पशु स्वास्थ्य तथा कृषिमा असर पार्ने खतरा देखिन थालेको छ । किसान अहिले उचित सुरक्षा र राहतको माग गरिरहेका छन् । “हामीलाई पशुभन्दा पहिला आफ्नो ज्यानको चिन्ता छ”, किसान शेरबहादुर गुरुङले भन्नुभयो, “न त निद्रा पाएका छौँ, न त राहत ।”