
झापा । हल्दीबारी गाउँपालिका वडा नं. ४, ओली चोकमा गत साउन ६ गते बिहान भएको आगलागीमा घाइते भएका ६० वर्षीय पुण्यप्रसाद ओलीको उपचारको क्रममा किर्तिपुरस्थित बर्न अस्पतालमा आज निधन भएको छ ।
आफ्नै पक्की घरको दोस्रो तल्लामा खाना पकाउने क्रममा ग्यास लिक भई अचानक आगो सल्किएको थाहा पाएर आगो निभाउने प्रयासमा सो घरका चारजना आगलागीमा परेर घाइते हुनुभएको थियो ।
घाइतेमध्ये पुण्यप्रसाद ओलीलाई प्रारम्भिक उपचार पछि भद्रपुरको ओमसाई पाथीभरा अस्पताल हुँदै थप उपचारका लागि काठमाडौंको कीर्तिपुर बर्न अस्पताल लगिएको थियो।
उहाँको आज बिहान ११ः३५ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा घाइते ५९ वर्षीया गोमादेवी ओली र ३३ वर्षीय सन्तोष ओली भने उपचार पछि अस्पतालबाट डिस्चार्ज भइसक्नु भएको छ । तर चौथो घाइते को हो र उहाँको अवस्था के छ भन्ने खुलाइएको छैन ।
घरको भान्साबाट सुरु भएको आगलागीबाट धेरै क्षति हुन नपाउँदै स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । तर आगो निभाउने क्रममा रहेको भनिएका उल्लेखित मानिसहरु घाइते हुनुभएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।