२०८२ साउन ९, शुक्रवार , ०४:३७:२३ बजे

Sajhamanch
'

विश्व एक्वेटिक्स च्याम्पियनशिपमा नेपालबाट चार जना खेलाडीले प्रतिस्पर्धा गर्ने

शुक्रवार, साउन ९, २०८२

काठमाडौं । सिङ्गापुरमा भइरहेको विश्व एक्वेटिक्स च्याम्पियनशिपमा नेपालबाट चार जना पौडी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । चार खेलाडीसहित ६ सदस्यीय नेपाली टोली आज राति सिङ्गापुर प्रस्थान गर्ने छ ।

प्रतियोगितामा २/२ जना पुरुष र महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । चारै जना खेलाडीले २/२ वटा स्पर्धामा भाग लिने छन् ।

पुरुषमा इर्भिन श्रेष्ठले १०० र २०० मिटर फ्रिस्टायल तथा अजलकाजी ताम्राकारले ५० मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाइमा प्रतिस्पर्धा गर्ने छन् । महिलामा ओलम्पियन डुवाना लामाले २०० मिटर फ्रिस्टायल र १०० मिटर ब्रेस्टस्ट्रोक तथा आर्या महर्जनले ५० र १०० मिटर फ्रिस्टायलमा सहभागिता जनाउने छन् ।

नेपाली टोलीको व्यवस्थापकमा नेपाल पौडी सङ्घका सदस्य विकास शर्मा र प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पौडी मुख्य प्रशिक्षक शङ्कर कार्की रहेका छन् ।

गएको जुलाई ११ देखि शुरू भइसकेको प्रतियोगिता आउँदो अगस्ट ३ सम्म चल्ने छ । नेपालको खेल भने जुलाई २७ देखि मात्र शुरू हुने नेपाल पौडी सङ्घका सचिव गङ्गालाल गोलेले जनाएका छन् । नेपाली टोली अगस्ट ४ मा स्वदेश फर्किने छ ।

टोलीलाई आज एक कार्यक्रमका बीच राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङ, पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठलगायतले बिदाइ गरे ।

सम्बन्धित खबर