
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नोट छपाइ आपूर्तिका लागि बोलपत्र आह्वान गरेको छ ।
केन्द्रीय बैंकले आज सार्वजनिक सूचना निकालेर ती नोट सुरक्षित तवरले छाप्नका लागि अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गरेको हो । बैंकले प्रविधिक प्रस्ताव र मूल्य प्रस्ताव पेश गर्न भनेको छ ।
नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले यसका लागि आवश्यक बजेट विनियोजन गरिसकेको जनाएको छ । राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार बोलपत्रको मूल्य नेपाली रुपैयाँमा २० हजार रहेको छ भने अन्य विदेशी मुद्राहरूमा यूएस डलर १४६, युरो १२६ र पाउन्ड १०९ निर्धारण गरिएको छ ।
बोलपत्र बुझाउने अन्तिम मिति आउँदो भदौ २३ गतेलाई तोकिएको छ । बोलपत्र कम्तीमा १२० दिनसम्म मान्य रहनेछ र न्यूनतम ४ करोड रुपैयाँको बैंक जमानतपत्र पनि संलग्न गर्नुपर्ने उल्लेख छ ।
नेपाल राष्ट्र बैंकले कुनै पनि वा सम्पूर्ण बोलपत्र रद्द गर्ने अधिकार सुरक्षित राखेको जनाएको छ ।