
काठमाडौं । बाढी पहिरोले बन्द भएका केही सडक अझै खुल्न सकेका छैनन् । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला, पासाङल्हामु सडक खण्डअन्तर्गत रसुवाको गोसाइँकुण्ड, घोराही–थवाङ शहीद मार्गअन्तर्गत रोल्पाको त्रिवेणी र जाजरकोट–डोल्पा–भेरी करिडोरअन्तर्गत रुकुम पश्चिमको आठबीसकोटमा सडक पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ मा वर्षाका कारण गएको मङ्गलवारदेखि सडक अवरुद्ध भएको हो ।
पासाङल्हामु सडक खण्डअन्तर्गत रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ बालुवाखानीमा पहिरो गएपछि आजदेखि सडक अवरुद्ध भएको हो ।
घोराही–थवाङ शहीद मार्ग हिजोदेखि पूर्णरूपमा अवरुद्ध बनेको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–७ मा पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । जाजरकोट–डोल्पा सडक खण्ड भने महिना दिनदेखि अवरुद्ध छ ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ रिजिगारमा बाढीका कारण गएको असार ९ गतेदेखि अवरुद्ध सडक अझै खुल्न सकेको छैन ।