
काठमाडौं । देशभर अहिले घाम लागे पनि दिउँसो धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, पाँचथर, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, सिन्धुपाञ्चोक, दोलखा, काभ्रे, रसुवा, नुवाकोट, धादिङ, कास्की, गोरखा जिल्लामा बाढीको मध्यम जोखिम रहेको छ ।
यस्तै लमजुङ, बाग्लुङ, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, रोल्पा, सुर्खेत, दैलेखमा पनि बाढीको मध्यम जोखिम छ ।
बाढीको जोखम भएका र आसपासका जिल्ला भएर बहने खोला तथा नदी तटीय क्षेत्र आसपासमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
देशभर मनसुनी वायुको प्रभाव केही कमजोर देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही ठाउँमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ ।
यस्तै राति कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही ठाउँहरूमा हावाहुरीसमेत चल्ने सम्भावना छ । गएराति पूर्वका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।