२०८२ साउन ९, शुक्रवार , १०:०३:५५ बजे

Sajhamanch
'

मधेशमा खडेरीले मर्कामा परेका किसानलाई उचित राहतको व्यवस्था गर्ने सरकारको तयारी

शुक्रवार, साउन ९, २०८२

काठमाडौं । कृषि मन्त्रालयले मधेशका किसानका लागि राहतसहितको कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ ।

विपद् सङ्कटग्रस्त क्षेत्रमा तत्कालै आवश्यक पर्ने विषयमा अध्ययन गर्न प्रभावित क्षेत्रमा टोली पनि खटिएको छ । टोलीको रायसुझावका आधारमा किसान केन्द्रित कार्यक्रम लैजाने मन्त्रालयको योजना छ ।

मन्त्रालयका अनुसार खानेपानी र बालीको उत्पादन लिन आवश्यक सिँचाइका लागि अल्पकाल र दीर्घकालका योजनासहित काम हुनेछ ।

मधेश प्रदेशमा कुल खेतीयोग्य जमिनको आधा पनि रोपाइँ हुन सकेको छैन । अब धानको रोपाइँ भए पनि त्यसले पर्याप्त उत्पादन दिन सक्ने सम्भावना कम हुन्छ ।

त्यसैले खेतियोग्य जग्गाजमिन त्यसै राख्नुभन्दा वैकल्पिक बाली लगाउन किसानलाई प्रोत्साहन गर्ने गरी काम हुने मन्त्रालयले जनाएको छ ।

त्यसमा मुख्यगरी कम पानीमै उत्पादन लिन सकिने कोदो र कोदोजन्य बाली प्रमुख हुन सक्ने कृषि मन्त्रालयका सहसचिव डा।रामकृष्ण श्रेष्ठले बताउनुभयो ।

कृषि विज्ञहरूले धान उत्पादनको सोझो सम्बन्ध देशको कुल गार्हस्थ्य उत्पादनसँग हुने भएकाले अहिलेको सङ्कटको तत्काल व्यवस्थापन खोज्न र किसानलाई आवश्यक राहत उपलब्ध गराउन जोड दिएका छन् ।

नेपालमा कृषिले कुल गार्हस्थ्य उत्पादनको एक चौथाइ हिस्सा ओगट्छ । त्यसमा धान उत्पादनको प्रमुख भूमिका रहन्छ । गएको वर्ष धान उत्पादन ५९ लाख मेट्रिक टन नाघेको थियो ।

नेपालको कुल धानमध्ये एक तिहाइ मधेश प्रदेशमा उत्पादन हुने गर्छ । तर यसवर्ष मधेश सुक्खा खडेरीको चपेटामा परेको छ ।

अवस्था जटिल बनेपछि असार अन्तिम हप्ता प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गर्‍यो । अस्ति बुधवार सङ्घीय सरकारले मधेशलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

सम्बन्धित खबर