
काठमाडौं । अन्न भण्डारका रूपमा चिनिने मधेश प्रदेशलगायत तराईका क्षेत्रमा यस वर्ष मनसुन प्रतिकूल हुँदा धान रोपाइँ प्रभावित भएको छ ।
मधेश प्रदेश सरकारको सिफारिशमा सङ्घको मन्त्रिपरिषद्ले मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् सङ्टग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । यता सरोकारवालहरूले धान उत्पादनमा नै ह्रास आउन सक्ने भन्दै चिन्ता जनाएका छन् ।
मधेश प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार अहिलेसम्म मधेश प्रदेशमा जम्मा ४७ प्रतिशतमात्र रोपाइँ भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृृषि विभागका अनुसार गएको वर्ष यही समयमा मधेशमा करिब ८० दशमलव ६ प्रतिशत रोेपाइँ भइसकेको थियो । यस प्रदेशमा तीन लाख ७२ हजार ६ सय ४५ हेक्टरमा रोपाइँ हुने गर्छ ।
मधेश प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा।सरोज चौधरीले वर्षा हुन नसक्दा धानको बीउ डढ्न थालेको, भइसकेको रोपाइँसमेत सिँचाइ नपाएर सुक्न थालेको बताउनुभयो ।
मधेश प्रदेशमा कुल खेतीयोग्य जमिनको ४९ प्रतिशत जग्गामा मात्र सिँचाइ सुविधा छ । सिँचाइको मुख्य स्रोत नदी, तलाउ, बाँध, नहर, स्यालो ट्यूबवेल र डिपबोरिङ हो । तर अहिले भएका कतिपय नहरबाट पनि पानी पाउँदैन ।
धेरै किसान आकाशबाट पानी कहिले पर्ला अनि रोपाइँ गरौँला भनेर बस्नुपर्ने बाध्यतामा छन् ।मधेश प्रदेशमा नेपालमा खेती गरिने कुल जग्गाको १६ दशमलव २५ प्रतिशत जग्गामा खेती हुने गरेको सरकारी तथ्याङ्क छ ।