
भोजपुर । खेतमा बाढी पस्दा भोजपुरको कावा खोला आसपास थन्काउने बेलाको बर्खे(साउने) धानबालीमा क्षति पुगेको छ ।
सडक विस्तारका क्रममा नाली व्यवस्थित नगरिँदा सडकको पानी खेतमा पसेपछि बालीमा क्षति पुगेको हो ।
सडकको पानी खेतमा पसेकाले थन्काउने बेलाको धान नष्ट भएको रामप्रसादराई गाउँपालिका–५ का किसान विश्वराज तामाङले बताउनु भयो ।
सडकमा जम्मा भएको पानीलाई नालीमा व्यवस्थापन नगर्दा तीन जना किसानको धानबालीमा क्षति पुगेको उनले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘नालीलाई व्यवस्थित नगरिँदा माथीबाट भेला आएर पानी खेतमा पसेको हो । बर्सेनि धानबालीमा बाढी पसेर क्षति गर्दै आएको छ।’
खेतमा पहिलो कमाइ बर्खे धानबालीमा उठाएपछि दास्रो बाली विस्तार गर्ने किसान बताउँछन् । बर्सेनि खेतीयोग्य भूमि बाझिँदै गइरहेकाले राज्यले किसानलाई प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरी आवश्यक सकजीकरण गर्नुपर्नेमा तामाङले जोड दिनुभयो ।
दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा करिब १२ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ।