
झापा । एशियाली क्रिकेट परिषद् (एसीसी) को वार्षिक साधारणसभा बैठक आज बङ्गलादेशको ढाकामा हुँदैछ ।
गएको मे महिनामा भारत–पाकिस्तान सैन्य झडपपछि अनिश्चिततामा फसेको यस वर्षको एशिया कपबारे यो बैठकमा निर्णय हुन सक्ने क्रिकेटसम्बन्धी जानकारी दिने बेवसाइट क्रिकइन्फोले जनाएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भर्चुअल रूपमा भाग लिइरहँदा र श्रीलङ्का क्रिकेटले भौतिक वा अनलाइनमार्फत सहभागी हुने भन्ने स्पष्ट नभइसक्दा यो बैठक ध्यानको केन्द्र बनेको छ ।
यसअघि अफगानिस्तान र ओमानले बैठकमा भाग नलिने कुरा पनि चलेको थियो तर अब उनीहरूले भाग लिनेछन् । यस्तै नेपाल क्रिकेट सङ्घ (क्यान) ले बीसीसीआईले जस्तै भर्चुअल रूपमा भाग लिनेछ ।
बैठकमा छलफलको मुख्य विषय एशिया कप हो । आठ वटा टोली सम्मिलित प्रतियोगिता आयोजना गर्ने अधिकार बीसीसीआईलाई छ, यद्यपि खेलहरू आउँदो सेप्टेम्बरमा यूएईमा हुने तय भएको छ ।
बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) ले उच्चस्तरीय एसीसी बैठक आयोजना गरिरहेको यो पहिलो पटक हो । यो बैठकका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) तथा एसीसीका अध्यक्ष मोहसिन नकवी बङ्गलादेश पुगिसकेका छन् ।
आज बेलुकी एक भव्य रात्रिभोजको आयोजनापछि ढाकाको एक होटलमा दुई दिन बैठक हुनेछ ।