
कालीकोट । नेपालको सबभन्दा अग्लो भनिएको कालीकोटको पचाल झरना नेपाल सरकारले पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको छ ।
आर्थिक वर्ष ०८२/०८३ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका एक सय वटा प्रमुख पर्यटकीय गन्तव्य छनोट गर्दा पचालझरना ६४औं स्थानमा सूचीकृत भएको हो ।
झरनाको प्रचारप्रसारका लागि नेपाल पर्यटन बोर्ड र यूएनडीपीको सहकार्यमा सूचना प्रविधिमैत्री क्यूआर कोड बनाएर पर्यटन बोर्डले गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।
पचाल झरना कालीकोटको खाँडाचक्र नगरपालिका र पलाता गाउँपालिकाको बीचमा पर्छ । पचाल झरनामा बग्ने पानी चुलिमालिकाको छेउबाट मूल फुटेर बग्ने गर्छ ।
कर्णाली करिडोरको लाफागाडबाट ३ घण्टाको उकालो बाटो कच्ची सडक हुँदै पचाल झरना पुग्न सकिन्छ । झरनाको शिरमा डाँफे कालिजलगायतका चराचुरुङ्गी पाइन्छन् ।
पचाल झरनाको आसपासमा घोरल, कस्तुरी, बनेल, हिमाली कालो भालुलगायतका वन्यजन्तु पाइने स्थानीयवासी महाजित ऐडीले बताउनुभयो ।
पर्यटकलाई खान, बस्न खार्दु गाउँका ५ घरमा होमस्टे सञ्चालन गरिएको गाउँपालिकाकी उपाध्यक्ष अल्किना बमले बताउनुभयो ।
समुद्री सतहदेखि ९७० मिटर उचाइमा रहेको पचाल झरना ३८१ मिटर अग्लो छ ।