२०८२ साउन ७, बुधवार , ०४:२०:२१ बजे

Sajhamanch
'

भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ : प्रधानमन्त्री ओली

बुधवार, साउन ७, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भ्रष्टाचारमा संलग्न नहुने र अरूलाई पनि संलग्न हुन नदिने राष्ट्रिय सङ्कल्पप्रति सरकार दृढ र प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले तीनै तहका सरकारका पदाधिकारीहरू कानूनको दायराभन्दा बाहिर नरहेको उल्लेख गर्दै आर्थिक अनियमितता देखिएमा कानूनी प्रक्रिया अनुसार कारबाही अघि बढ्ने स्पष्ट पार्नुभयो । उहाँले केही मान्छेले प्रधानमन्त्रीको आलोचना गर्ने खालको फेसन बनाएको भन्दै हल्ला गरेकै भरमा छानबिन नहुने पनि टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भन्ने राष्ट्रिय सङ्कल्पप्रति हामी सबै दृढ र प्रतिबद्ध छौँ । यद्यपि केही मान्छेहरूको फेसन हुने गर्छ– प्रधानमन्त्रीलाई अलिकति लाञ्छना नलगाई नहुने । तिनीहरू कहिले पशुपतिमा पित्तल चलायो भनेर हल्ला गर्छन् । अहिले पनि छानबिन होस् भनेर कराउँछन् । त्यस्ता कुराहरूमा म वास्ता पनि गर्दिनँ, चित्त पनि दुखाउँदिनँ । कसैको व्यवहारको कुरामा म धेरै गइरहन चाहन्नँ । तीनै तहको सरकारमा रहेका कुनै पनि व्यक्तिहरू कानूनको दायराभन्दा बाहिर छैनन् । कहीँ कतै आर्थिक विचलन र अनुचित व्यवहार देखिएमा कानून बमोजिम कारबाही भइरहेको छ र हुनेछ ।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा संलग्नहरूमाथि सरकार असहिष्णुका साथ आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

यस्तै उहाँले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू सम्पन्न गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनु सरकारको उच्च प्राथमिकता रहेको उल्लेख गर्नुभयो । ओलीले द्वन्द्व पीडितहरूलाई न्याय दिने विषयमा सरकार पूर्णरूपमा संवेदनशील र जिम्मेवार रहेको बताउनुभयो ।

सम्बन्धित खबर