
काठमाडौं । सबैभन्दा बढी दुर्घटना तीव्र गतिमा गाडी चलाउँदा भएको नेपाल प्रहरीको पछिल्लो विश्लेषणले देखाएको छ ।
पछिल्लो एक महिनाको गाडी दुर्घटनाको अवस्था अध्ययन गर्दा तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेको पाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले बताउनुभयो ।
गएका महिनामा दुई हजार ९२२ गाडी दुर्घटना भएका जनाउँदै उहाँले त्यसमा एक हजार ४५० दुर्घटना तीव्र गतिका कारण भएका बताउनुभयो । त्यसपछि जाँड–रक्सी खाएर गाडी चलाउँदा दुर्घटना भएको पाइएको छ ।
बाटो काट्दा, ‘ओभटेक’ गर्दा, लेन मिच्दा पनि दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ । यसरी दुर्घटना हुनेमा धेरैजसो मोटरसाइकल परेका प्रवक्ता घिमिरेले भन्नुभयो । नेपाल प्रहरीका अनुसार गएको असारमा भएका दुर्घटनाको अध्ययन गर्दा ५६ दशमलव ५७ प्रतिशत मोटरसाइकल रहेका छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता घिमिरेले ती दुर्घटनामा परेका चार हजार ४२८ गाडीमध्ये दुई हजार ५०५ वटा मोटरसाइकल रहेका जानकारी दिनुभयो । त्यसपछि जीप÷कार दुर्घटना १७ दशमलव २३ प्रतिशत छन् । ती दुर्घटनामा परेर एक महिनामै २३९ जनाको ज्यान गएको छ । यस्तै ६२५ जना घाइते भएका छन् ।