
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा स्वागत नगर्नुको कारण दललाई बलियो बनाउनेभन्दा लोकतन्त्रलाई बलियो बनाउनका लागि भएको बताउनुभएको छ ।
पार्टीको प्रचार तथा प्रकाशन विभागले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै पोखरेलले पूर्व राष्ट्रपति एमालेमा प्रवेश गर्दा पार्टी बलियो हुने भएपनि लोकतन्त्र कमजोर हुने बताउनु भयो ।
‘विद्या भण्डारी एमालेको राजनीतिमा आउँदा पार्टीलाई फाइदा नै हुन्छ । उहाँको व्यक्तित्वले एमाले बलियो नै हुन्थ्यो’ हिजो सकिएको केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गर्दै पोखरेलले भन्नुभयो `तर यस्तो प्रवृतिले लोकतान्त्रिक मूल्य मान्यतालाई खण्डित गर्दछ ।´
एमालेको सदस्यता नविकरण नहुँदा उहाँ घरमा बस्नुहुन्छ भन्ने पार्टीको अपेक्षा नरहेको उहाँको भनाइ छ । उहाँ अभिभावक भएकोले समसामयिक राजनीतिक विषयमा चासो र चिन्ता राख्नुलाई अस्वभाविक नभएको पोखरेलको भनाइ छ ।
पत्रकारहरुको प्रश्नको जवाफमा महासचिव पोखरेलले योग्यता पुगेका कुनै पनि प्रतिनिधि पार्टी अध्यक्षका रुपमा उम्मेद्वार हुन पाउने बताउनु भयो । `योग्यता पुगेका महाधिवेशन प्रतिनिधि अध्यक्षको उम्मेदवार हुन पाउँछन् । हामीले कसैलाई छेकेका छैनौ´ महासचिव पोखरेलले भन्नुभयो `तर केन्द्रीय कमिटीको एक मतले मिसन ८४ को नेतृत्व केपी ओलीले नै गर्नु पर्दछ भनेको छ ।´