
झापा । कोशी प्रदेशको प्रमुख स्वास्थ्य संस्था प्रादेशिक अस्पताल, भद्रपुरमा रेबिजविरुद्धको निःशुल्क भ्याक्सिन एक महिनादेखि उपलब्ध नभएपछि बिरामीहरू उपचार नपाई फर्किन बाध्य भएका छन्।
असार ३ गतेदेखि सेवा बन्द हुँदा दैनिक दर्जनौं बिरामीहरू निजी फार्मेसीको शरण लिनुपरेको छ। निजी फार्मेसीहरूमा एउटै भ्याक्सिनको मूल्य ६५० देखि ७०० रुपैयाँ सम्म पर्ने हुँदा सर्वसाधारणलाई आर्थिक भार बढेको छ।
सूचना अधिकारी मनोजकुमार पोखरेलका अनुसार अस्पतालमा मासिक करिब ५०० भ्याक्सिन खपत हुन्छ। मन्त्रालयले नियमितरूपमा भ्याक्सिन पठाउने गरे पनि पछिल्लो महिनादेखि आपूर्ति रोकिएको उहाँको भनाइ छ। “भ्याक्सिन नपठाइएको सूचना टाँस गरेर सेवा बन्द गर्नुपरेको हो,” पोखरेलले भन्नुभयो।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार गुप्ताले मन्त्रालयलाई लिखित रूपमा जानकारी गराइसके पनि अहिलेसम्म भ्याक्सिन नपुगेको बताउनु भयो। “मन्त्रालयले ‘कोलोजिङ’ को कारण देखाउँदै हाललाई रोकिएको जनाएको छ,” उहाँले भन्नुभयो।
तर कोशी सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केनिन राईले भन्नुभयो यो विषयमा आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिनु भएको छ। “अहिले जानकारी भयो, तुरुन्तै आपूर्ति विभागलाई जानकारी गराउँछु,” उहाँले भन्नुभयो।