२०८२ साउन ७, बुधवार , ०७:१४:१३ बजे

Sajhamanch
'

आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गरिँदै

बुधवार, साउन ७, २०८२

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज १० अर्ब रुपैयाँ बराबरको ‘विकास ऋणपत्र– २०८५’ बिक्री गर्ने भएको छ ।

तीन वर्षे अवधिको ऋणपत्र बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो । यो ऋणपत्रको नेपाल स्टक एक्सचेञ्जमा दोस्रो बजार कारोबार हुनेछ । यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिनसमेत पाइनेछ ।

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म ऋणपत्रको बोलकबोल हुनेछ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने र आय करसमेत लाग्ने ऋणपत्रको साँवा भुक्तानी भने २०८५ साउन ८ गते हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी वा अप्रतिस्पर्धी बोलदातालाई क्रमशः ८५ र १५ प्रतिशत अर्थात आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ ।

अप्रतिस्पर्धी बोलदातालाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलदातालाई बिक्री गरिने छ ।

अप्रतिस्पर्धी बोलदातालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलदातालाई समानुपातिक रुपमा ऋणपत्रको रकम बाँडफाँट गरिनेछ ।

सरकारले चालू आर्थिक वर्षमा तीन खर्ब ६२ अर्ब बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले यही साउनदेखि आउँदो असोजसम्म एक खर्ब १३ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

सम्बन्धित खबर