२०८२ साउन ७, बुधवार , ०७:०९:५३ बजे

Sajhamanch
'

संवैधानिक व्यवस्था सम्झाउँदै एमालेले पूर्वराष्ट्रपतिलाई दलको सदस्य हुन रोक लगायो

बुधवार, साउन ७, २०८२

काठमाडौं । नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दल विशेषको सदस्य भएर राजनीतिमा सक्रिय हुनु उपयुक्त नहुने भन्दै सदस्यता नविकरण रोकेको छ ।

एमालेले पार्टी सदस्यता नविकरण मात्र होइन, कुनै पनि दलमा आवद्ध भएर कार्यकर्ता वा नेता हुने विषय नै संविधानको भावना र मर्म विपरित हुनेसमेत राष्ट्रपतिलाई स्मरण गराएको छ ।

पार्टीको हिजो राति अबेरसम्म चलेको केन्द्रीय कमिटीको नवौं बैठकका निर्णय सार्वजनिक गर्दै प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त कुरा उल्लेख छ ।

विज्ञप्तिमा पूर्व राष्ट्रपति भण्डारी राजनीतिमा आउने विषयले पार्टीको गम्भिर ध्यानआकर्षण भएको उल्लेख छ । एमालेले राष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन मिल्दैन भन्ने तर्क गरिरहँदा संविधानको भाग ६ का विभिन्न धाराहरु स्मरण गराएको छ ।

‘नेपालको संविधानको भाग ६ धारा (६१) मा राष्ट्रपतिको व्यवस्था छ । सोही धाराको २ मा राष्ट्रपति देशको राष्ट्रध्यक्ष हुने, ३ मा राष्ट्रिय एकताको प्रवर्धक, ४ मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने र धारा २६७ को व्यवस्था बमोजिम नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ’ संविधानलाई उधृत गर्दै विज्ञप्तिमा लेखिएको छ ।

संविधानले यति गहन जिम्मेवारी दिएको व्यक्तिले फेरि राजनीतिमा फर्किएर दलको सदस्य हुने, नेता हुने विषय कल्पना गर्न नसकिने प्रमुख गौतमले बताउनुभयो ।

मध्यरातमा पार्टी केन्द्रीय कार्यालयमा सकिएको बैठकले भण्डारीको राजनीतिक पुनरागमनलाई अस्विकार गरेको हो ।

एमालेले जारी गरेको विज्ञप्तीमा आठवटा कारण देखाउँदै राष्ट्रपतिलाई पार्टीमा फर्काउने विषयमा विराम लगाएको हो । ‘मुलुकको राष्ट्रध्यक्ष, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतिक, संविधानको पालनाकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपती, साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दल विशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा यो गौरवमय जिम्मेवारी लिएको व्यक्तिबाट सम्भव हुदैन र मिल्दैन भन्ने निष्कर्ष निकालेको छ’ एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बैठकले पूर्वराष्ट्रपतिलाई उच्च सम्मान गर्दै पूर्वराष्ट्रपति कै भूमिकामा बस्न आग्रह पनि गरेको जनाइएको छ ।