
काठमाडौं । शेयर बजार लगातार छैटौं कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ८० दशमलव ९७ अङ्कले बढेर २ हजार ९७३ दशमलव ७० विन्दुमा पुगेको छ ।
योसँगै नेप्से ११ महिनायताकै उच्च विन्दुमा पुगेको छ । यसअघि गएको भदौ ६ गते नेप्से २ हजार ९७४ विन्दुमा पुगेको थियो ।
आज सबै समूहको शेयर बढेकोमा उत्पादन समूहको शेयर ४ दशमलव ६३, जीवन बीमा समूहको शेयर ४ दशमलव ३६ प्रतिशतले उकालो लागेको छ ।
आज ट्रेड टावर, शिवम् सिमेन्ट्स, सान्भी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन लुम्बिनी विकास बैंकको डिबेन्चर २०८९ झन्डै ४ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो १६ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ३१९ वटा कम्पनीका ४ करोड ३५ लाख कित्ता शेयर २० अर्ब ८ करोड रुपैयाँमा किनबेच भएको छ ।