
झापा । झापा जिल्लाका केही भागमा लगातार आरि घोप्टे वर्षा भइरहेको छ । जसका कारण बाढीको जोखिम थप बढेको छ। स्थानीय खोलानाला र साना नदीमा पानीको सतह उच्च देखिएको जनाइएको छ।
हाल देशभर मनसुनी वायुको सक्रियता कायम रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा सक्रिय भएकाले मुलुकभर बदली र वर्षा भइरहेका छन्।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने, विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ती क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा भैरहेको छ। अन्य केही स्थानमा पनि वर्षा भइरहेको जानकारी प्राप्त भएको छ।
राति पनि यस्तो मौसम निरन्तर रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा चट्याङसहित हल्का र मध्यम वर्षाको सम्भावना रहेको छ भने एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विभागले सतर्कता अपनाउन आग्रह गर्दै बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट सुरक्षित रहन आवश्यक सावधानी अपनाउन नागरिकहरूलाई अनुरोध गरेको छ।