
पाँचथर । खोलाले बगाउँदा पाँचथरमा एक २१ वर्षीया युवतीको मृत्यु भएको छ।
जिल्लाको फालेलुङ गाउँपालिका–७, सिदिनस्थित पापुन्देन टोलकी मनिषा आङ्बोको खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
प्रहरीका अनुसार फिदिमस्थित फेमे खोलाले बगाउँदै ल्याएकी आङ्बोलाई फिदिम–४ र हिलिहाङ–७ को सीमामा पर्ने हेंवा खोलामा डाइभर्सन मर्मत कार्यमा संलग्न स्थानीयले बेहोस अवस्थामा उद्धार गरेका थिए।
तत्कालै प्रहरीको सहयोगमा उपचारका लागि पाँचथर अस्पताल पुर्याइएकी उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार उनी केही दिनदेखि हराएकी थिइन् र काका नाता पर्ने घरमा बस्दै आएकी थिइन्।
पोष्टमार्टमपश्चात सोमबार नै शव आफन्तलाई बुझाइएको प्रहरी कार्यालयले जानकारी दिएको छ।