
काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठकअन्तर्गत आज सोमबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्षीय मन्तब्य राख्नु हुँदै पार्टीलाई ‘निर्णायक राष्ट्रिय शक्ति’को रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढ्न नेतृत्वलाई निर्देशन दिनुभएको छ।
बैठकको बीचम सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा छलफल भएका मुख्य बुँदाहरू सार्वजनिक गर्नुभएको हो।
गौतमका अनुसार पार्टी अध्यक्षले हाल नेपाली राजनीतिमा भइरहेका घटनाक्रम, एमालेप्रति भइरहेका आक्रमण र त्यसका प्रतिकारमा पार्टीले लिनुपर्ने रणनीति स्पष्ट रूपमा प्रस्तुत गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘पार्टी अध्यक्षले कसरी एमालेमाथि योजनाबद्ध रूपमा आक्रमण भइरहेको छ र त्यसको सामना कसरी गर्ने भन्नेबारे बैठकमा स्पष्ट धारणा राख्नुभयो।’
अध्यक्ष ओलीले पार्टीको सम्पूर्ण संरचनालाई सुदृढ बनाउँदै वैचारिक स्पष्टताका साथ अघि बढ्न निर्देशन दिनुभएको छ। ‘पार्टीमा अहिले कुनै वैचारिक मतभेद छैन, सानातिना मतभेदमा नअलमलिन र सबैलाई एकताबद्ध भएर अघि बढ्न अध्यक्ष ओलीले निर्देशन दिनुभएको’ गौतमले बताउनु भयो ।
गौतमले बताएअनुसार यो वर्ष एमालेमा देशभरबाट १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्, जुन कूल सदस्यता संख्याको करिब २८ प्रतिशत बृद्धि हो । ‘पार्टी थप मजबुत र क्रियाशील भएर अघि बढेको देखिएको छ’ उहाँले भन्नुभयो।
बैठकमा ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकाल सीमाको विषयमा पनि विचार राखिएको गौतमले जानकारी दिनुभयो।
बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग हालै भएको छलफलको सन्दर्भ पनि आएको थियो। पार्टी कार्यालयमा नै भएको उक्त छलफल सौहार्दपूर्ण भएको र पूर्वराष्ट्रपति राजनीति फर्किनुहुन्छ कि फर्कनु हुन्न भन्नेबारे पार्टी अध्यक्षले स्पष्ट धारणा राखेको गौतमले जानकारी दिनुभयो। सदस्यताको विषय छलफलबाट टुंगिने उहाँको भनाई थियो ।
अध्यक्ष ओलीले नेताहरूलाई अफवाह फैलाउने कार्य नगर्न र पार्टी सुदृढ बनाउन सबै लाग्नुपर्ने निर्देशन दिनु भएको थियो।
यस्तै पार्टीका उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आसन्न विधान महाधिवेशनमा प्रस्तुतिका लागि तयार पारिएको संशोधन प्रस्तावहरु केन्द्रीय कमिटी समक्ष पेस गर्नुभएको थियो ।
आजको बैठकमा पार्टी महासचिव शंकर पोखरेलले देशभरको सांगठनिक अवस्था र अभियानहरूको प्रगति विवरण प्रस्तुत गर्नु भएको पनि उहाँले जानकारी दिनुभयो ।
गौतमका अनुसार आज र भोलि लगातार बैठक चल्नेछ । ‘भोलि (मंगलबार) नयाँ निर्णयसहित सार्वजनिक रूपमा आउनेछौँ’ उहाँले भन्नुभयो ।
एमालेले आगामी भदौ २०–२२ गते काठमाडौंमा विधान महाधिवेशन गर्ने तयारी गरिरहेको छ। यस बैठकलाई विधान संशोधन, सांगठनिक स्पष्टता, सदस्यता अभिवृद्धि र राजनीतिक रणनीति निर्माणको दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिएको छ।
भिडियो पनि लिङ्कमा
https://www.facebook.com/share/v/19HqBk6ppH/