
काठमाडौं । अस्ति शनिवार बेलुकादेखि सक्रिय भएको मनसुनी प्रणालीले पर्याप्त पानी पार्ने आशा रहेको भए पनि पूर्वानुमान अनुसार पानी पर्न सकेन । पूर्वमा झापा, धनकुटा, गण्डकीमा कास्की, सुदूरपश्चिममा कञ्चनपुरलगायतका सीमित ठाउँमा ठूलो पानी परे पनि औसतमा मध्यम वर्षा भएरै प्रणाली निष्क्रिय बनेको छ ।
पछिल्लो ३ घण्टामा देशका केही ठाउँमा सामान्यबाहेक वर्षा भएको छैन । धेरै ठाउँमा मौसम खुलेर चर्को घाम लागेको छ । मनसुन शुरू भएयता निकै कम पानी परेको मधेश प्रदेशमा यस पटक पनि पर्याप्त पानी परेन ।
यस बेला मधेशमा माटो भिजाउनकै लागि २४ घण्टामा कम्तीमा १०० मिलिमिटरभन्दा धेरै वर्षा आवश्यक पर्ने तर त्यो दरमा एकाधबाहेक ठाउँमा पानी नपरेको जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोख्रेलले बताउनुभयो ।
मधेशमा पानी नपर्दा जमिन सुक्खा भएको र सिँचाइ मात्र नभई खानेपानीको समेत हाहाकार भएको मधेशमा पानी संरक्षणबारे आवाज उठाउँदै आएका सुनिल यादव बताउनुहुन्छ ।
वर्षा नहुँदा मधेशमा साउनको पहिलो हप्तामा पनि रोपाइँ ४६ प्रतिशतमै सीमित भएको छ । मधेश मात्र हैन मध्यपहाडका धेरै ठाउँमा यस वर्ष अझै रोपाइँ गर्ने गरी वर्षा भएको छैन । सिँचाइको सुविधा नभएका खेतहरू बाँझै छन् ।
यसपालि मनसुनमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान रहेकोमा मनसुन भित्रिएको डेढ महिनासम्म अपेक्षित वर्षा भएको छैन । मनसुन भित्रिएपछि मौसमविद्हरूले ३/४ पटक नै ठूलो वर्षाको पूर्वानुमान गरे । तर पूर्वानुमान अनुसार पानी पर्न सकेन । सीमित ठाउँमा पानी परे पनि धेरै ठाउँमा निकै कम पानी परेको छ ।
शुरूमा बलियो किसिमको प्रणाली देखिने र अन्तिममा कमजोर बन्ने प्रवृत्ति दोहोरिरहेकोले यो अध्ययनको विषय रहेको विभागकी प्रवक्ता पोख्रेल बताउनुहुन्छ ।
उहाँका अनुसार यस पटक बङ्गालको खाँडीबाट अघि बढ्ने हावामा जलवाष्प नै कम देखिएको छ । कतिपय अवस्थामा बङ्गालको खाँडीबाट अघि बढेको जलवाष्पयुक्त हावा पनि अन्यत्र मोडिने समस्या देखिएको मौसमविद्हरू बताउँछन् ।
यस वर्ष मनसुनको अवधि अझै झन्डै साढे दुई महिना रहेकोले वर्षाको सम्भावना त रहन्छ । तर मुख्य बाली धानको रोपाइँ गर्ने बेलामा पानी पर्न सकेन । अझ देखिएका प्रणाली पनि अन्तिमतिर कमजोर हुने अवस्था भने गम्भीर रहेको मौसमविद्हरूको भनाइ छ ।