
काठमाडौं । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले दोस्रो पटक बङ्गलादेशसँग खेल्दैछ ।
आज हुने अन्तिम खेलले नै उपाधि जित्ने टोलीको निर्णय गर्नेछ । खेल बङ्गलादेशको बसुन्धरा स्पोटर्स मैदानमा नेपाली समयअनुसार बेलुकी पौने ७ बजेदेखि शुरू हुनेछ ।
प्रतियोगितामा बङ्गलादेश पाँच खेलमा १५ अङ्कसहित शीर्ष स्थानमा छ भने समान खेलमा १२ अङ्कसहित नेपाल दोस्रो स्थानमा छ । नेपालले भुटान र श्रीलङ्कालाई दुई–दुई खेलमा पराजित गर्दा बङ्गलादेशसँग भने पराजित भएको थियो ।
डबल राउन्ड रोबिनका आधारमा भएको खेलमा प्रतियोगिताको उपाधि जित्न नेपालले अन्तिम खेलमा बङ्गलादेशलाई हराउनुपर्नेछ । बङ्गलादेशलाई उपाधिका लागि बराबरी नतिजा मात्रै पनि पर्याप्त रहनेछ ।
बङ्गलादेशसँगको पहिलो खेलमा नेपाल ३–२ गोलले पराजित भएको थियो । नेपालले यसअघि भुटानलाई पहिलो खेलमा ६–१ गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो ।
त्यसयता नेपालले लगातार तीन खेल जित्दा कुनै गोल खाएको छैन । श्रीलङ्कालाई दुवै खेलमा ७ ले पराजित गरेको नेपालले पछिल्लो खेलमा भुटानलाई ८ गोलले हराएको थियो ।
उता बङ्गलादेशले श्रीलङ्कालाई पहिलो खेलमा ९–१ ले हराउँदै शुरुवात गरेको थियो । बङ्गलादेशले तीनवटै विपक्षीसँग गोल खाएको छ । दोस्रो खेलमा नेपाललाई ३–२ ले र तेस्रो खेलमा भुटानलाई ४–१ ले हराउँदा बङ्गलादेशले गोल खाएको हो ।
त्यसपछि बङ्गलादेशले भुटानलाई ३–० र श्रीङ्गकालाई ५–० ले पराजित गरेको थियो । प्रतियोगितामा नेपाल, बङ्गलादेश, भूटान र श्रीलङ्का गरी चार वटा देश सहभागी छन् ।