२०८२ साउन ४, आइतवार , ०४:३३:०४ बजे

Sajhamanch
'

शेयर बजारमा २१ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार, ‘अड लट’ सुविधाले लगानीकर्तालाई सहज

आइतवार, साउन ४, २०८२

काठमाडौं । शेयर बजार आज सामान्य बढेको छ । दिनभर उतारचढाव देखिएको शेयर बजार परिसूचक नेप्से हप्ताको पहिलो दिन शून्य दशमलव ३२ अङ्कले बढेर २ हजार ८७० दशमलव ९५ विन्दुमा पुगेको छ । दिउँसो १ बजेर ६ मिनेटमा नेप्से २ हजार ९२२ दशमलव ३८ विन्दुसम्म पुगेको थियो ।

आज बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत्, लगानी, उत्पादन, माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा अन्य समूहको शेयर ३ दशमलव ३६ प्रतिशतले उकालो लागेको छ ।

आज उन्नति सहकार्य लघुवित्त, सान्भी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन समृद्धि फाइनान्स कम्पनीको शेयर भने झन्डै ९ प्रतिशतले घटेको छ ।

आज कारोबार रकम उल्लेख्य बढेको छ । गएको बिहीवार १६ अर्ब ५९ करोडको कारोबार भएकोमा आज ३१६ वटा कम्पनीका ५ करोड १६ लाख कित्ता शेयर २१ अर्ब ४६ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो कारोबार रकम ११ महिनायताकै उच्च हो । यसअघि गएको भदौ २ गते २८ अर्ब ८३ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

यसैबीच नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अड लट आदेशहरू आफ्नो वेबसाइटको मार्केट डेप्थमा देखिने व्यवस्था लागू गरेपछि १० कित्ताभन्दा कम शेयर किनबेच गर्न सहज भएको छ । अड लट आदेश वेबसाइटमा नदेखिँदा यसअघि ९ कित्ताभन्दा कम शेयर भएका लगानीकर्तालाई बिक्री गर्न समस्या हुने गरेको थियो ।

धितोपत्र कारोबार विनियमावली २०७५ अनुसार धितोपत्रको अङ्कित मूल्य १० रुपैयाँ भएमा १०० कित्ता, १०० रुपैयाँ भएमा १० कित्ता, र १००० रुपैयाँ भएमा एक कित्ताको कारोबारलाई बोर्ड लट भनिन्छ । त्योभन्दा कम परिमाणमा हुने कारोबारलाई अड लट भनिने व्यवस्था छ ।

सम्बन्धित खबर