
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले उज्वेकिस्तानमा भएको घटनालगायतका विषयमा प्रशिक्षक वाइल्डलाई स्पष्टीकरण सोधेको थियो ।
उनलाई पत्रमा पुनः नेपाल फर्केर टोलीमा आबद्ध हुनेरनहुने जवाफ एक हप्ताभित्र दिन पनि भनिएको थियो । तर उनले एक हप्ता नपुग्दै एन्फालाई राजीनामा पठाएका एन्फाका प्रवक्ता सुरेश शाहले उज्यालोलाई जानकारी दिनुभयो ।
प्रशिक्षक वाइल्डले पठाएको राजीनामाबारे एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङ विदेशबाट आएपछि टेक्निकल कमिटिको बैठक बसेर निर्णय गरिने उहाँले बताउनुभयो । उज्वेकिस्तानमा एशियन कप छनोटमा मुख्यतः कप्तान छनोटका विषयमा डे वाइल्ड र व्यवस्थापनबीच चर्को विवाद भएको थियो ।
उज्वेकिस्तानबाट झन्डै दुई हप्ताअघि टोली स्वदेश फर्किएको थियो भने डे वाइल्ड स्वदेश फर्केका थिएनन् । सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा डे वाइल्डले एन्फाको कमजोर व्यवस्थापन, खेलाडीमाथिको दबावलगातका विषयमा बोलेपछि एन्फा नेतृत्व उनीसँग आक्रोशित रहँदै आएको थियो ।
एक वर्षका लागि एन्फासँग सम्झौता गरेका डे वाइल्डले एक महिनामै राजीनामा दिएका हुन् । उनको प्रशिक्षणमा नेपाल तीन खेलमा अपराजित रह्यो । जसमा दुई जीत र एक खेल बराबरी रह्यो ।
एशियन कपको फाइनल चरणका लागि जित्नै पर्ने खेलको पेनाल्टी शुटआउटमा नेपाल पराजित भएको थियो । डे वाइल्ड नेपाली महिला टोलीलाई प्रशिक्षण दिने पहिलो प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन् ।