
काठमाडौं । कोशी र गण्डकी प्रदेशका केहि ठाउँमा ठूलो वर्षापछि बाढी जोखिम बढेको छ । धनकुटाका मुलघाट, त्रिवेणी र मझुवाघाट, सुनसरीको तरहरा र धरानबजार, इलामको माईपोखरी, कास्कीको लुम्लेलगायतका क्षेत्रमा ठूलो वर्षा भएको हो ।
सुनसरीको सार्दु खोला मदन भण्डारी राजमार्ग जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ । त्यस्तै कास्कीको लुम्ले क्षेत्रमा ठूलो वर्षा भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
पर्वतको मोदी खोला जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास छ । तर बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेलाई सतर्कता अपनाउन भनिएको छ ।
नारायणी नदी अन्तर्गत पर्वतको मोदी खोला नयाँपुल जल मापन केन्द्रमा बाढी आएको छ । आज विभिन्न खोला तथा नदीहरुमा जलसतह बढेपछि बाढी पूर्वानुमान महाशाखाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ । नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भाग तथा मुख्य राजमार्गमा यात्रा गर्दा सावधानी अपनाउन भनिएको छ ।
बितेको २४ घण्टामा धनकुटाको त्रिवेणीमा १९५ दशमलव ६, इलामको माईपोखरी केन्द्रमा १८२ दशमलव २ मिलिमिटर र मझुवाघाटमा १७३ मिलिमिटर, लुम्लेमा १६२ दशमलव ६ मिलिमिटर वर्षा मापन भएको छ ।
मधेश प्रदेश र काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेशका जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ । आज र भोलि थप पानी पर्ने सम्भावना छ । अहिले देशभर मनसुनी वायुको प्रभाव छ ।
आज कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार ती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना पनि छ ।