
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाल र बङ्गलादेशबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल तोकिएकै समयमा हुने बताएको छ । एन्फाले आज विज्ञप्ति निकालेर यसबारेमा जानकारी गराएको हो ।
फिफा अन्तर्राष्ट्रिय विन्डो अन्तर्गत आउँदो भदौ २१ र २४ गते काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल हुने एन्फाले बताएको छ ।
नेपाल र बङ्गलादेशबीच मैत्रीपूर्ण फुटबलका लागि आवश्यक प्रक्रियाहरू पूरा गरी गएको जुलाई ७ मा एएफसी र फिफाबाट स्वीकृति प्राप्त भइसकेको तथा एन्फा र बङ्गलादेश फुटबल फेडेरेशनले पनि मैत्रीपूर्ण फुटबलको पुष्टि गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल र बङ्गलादेशबीचको मैत्रीपूर्ण फुटबललाई लिएर भ्रामक समाचार आएको भन्दै एन्फाले खण्डन पनि गरेको छ ।
यो मैत्रीपूर्ण फुटबललाई नेपालले एएफसी एशियाली कप छनोटको तयारीका रूपमा लिएको छ । एशियाली कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ । यो समूहमा नेपालसँगै मलेशिया, लाओस र भियतनाम छन् ।
नेपालले अहिलेसम्म दुई वटा खेल खेलेकोमा दुवैमा हार बेहोरेको छ । एशियाली कप छनोटमा नेपालले आउँदो अक्टोबर ९ मा भियतनामसँग उसैको मैदानमा खेल्ने तालिका छ ।